शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

क्युबाका लागि जासुसी गर्ने अमेरिकन कूटनीतिज्ञलाई १५ वर्षको जेल सजाय

दैनिक नेपाल २०८१ वैशाख १ गते ८:३६

न्युयोर्क, १ वैशाख । क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कूटनीतिज्ञलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

बोलिभियाका लागि पूर्व अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व कूटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको हो ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय भिक्टर म्यानुअल रोचाले ४० वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा क्युवाली सरकारलाई जानकारी दिएको पुष्टि भएको जनाएका छन् ।

गत फेब्रुअरीमा रोचाले मियामी अदालतमा आफू दोषी नभएको भन्दै दिएको निवेदनमा परिवर्तन गरेर आरोप स्विकार गर्नुभएको छ । शुक्रबार जेलको लुगा लगाएका रोचाले मियामीको संघीय अदालतमा अन्तत भन्नुभयो, ‘म दोषी हुँ ।’

जासुसी मुद्दामा जेल सजाय भोगेको यो घटना अमेरिका र क्युबाबीच अहिलेसम्मकै उच्च प्रोफाइल हो । समाचार अनुसार १५ वर्षको जेल सजायको अतिरिक्त रोचाले ५० हजार अमेरिकन डलर पनि जरिवाना पनि तिर्नु पर्नेछ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रोचाको अपराधलाई ‘विदेशी एजेन्टद्वारा अमेरिकी सरकारको सबैभन्दा उच्च पहुँच र लामो समयसम्म चल्ने घुसपैठहरू मध्ये एक’ भनेर उल्लेख गर्नुभएको छ ।

कोलम्बियामा जन्मेका हार्वर्ड शिक्षित रोचाले २०१९ र २०२२ का बीच बोलिभियाका लागि अमेरिकी राजदूतको रूपमा सेवा गर्नुभएको थियो । साथै अर्जेन्टिना, होन्डुरस, मेक्सिको र डोमिनिकन रिपब्लिकमा अन्य विभिन्न कूटनीतिक पोस्टिङमा पनि काम गर्नुभएको थियो । साथै, राष्ट्रिय सुरक्षा परिषदसहित अन्य सरकारी भूमिकाहरूमा पनि काम गर्नुभएको थियो ।

आफ्नो कूटनीतिक सेवा समाप्त भएपछि रोचाले कम्युनिष्ट क्युबा लगायत सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियनको निरीक्षण गर्ने अमेरिकी सेनाको दक्षिणी कमाण्डको सल्लाहकारको रूपमा सेवा गरेको अनुभव पनि उहाँसँग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित