
काठमाडौं, ३० चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वितेको वर्ष २०८० मा मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा वाधा पुगेको बताउनुभएको छ ।
आज राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालद्धारा आयोजित शुभकामना सांस्कृतिक साँझ, २०८० समारोहलाई सम्बोधन गर्नुहुँदै पोखरेलले वितेको वर्षमा मुलुकलाई जागृत बनाउने कुराहरुलाई मुर्छित बनाउने काम गरिएको टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, वितेको वर्ष खासगरी समस्या र चुनौतीले भरियो । मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा वाधा पुग्यो । राष्ट्रियता र स्वाभिमानका विषयहरुमा हामीले बेला बेलामा कमजोरी देखायौं । बेलाबेलामा देशलाई जागृत बनाउने कुराहरुलाई मुर्छित बनाउने काम भयो ।’
वितेको वर्षबाट पाठ सिकेर अगामी दिनहरुमा त्यस्ता किसिमका कमजोरी आउन नदिने कुरामा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले राजनीतिक दल र समाजमा विकृतीहरु फैलिएको उल्लेख गर्दै त्यसलाई निर्मुल पार्न सांस्कृतिक दलहरुले विकृतीहरुका विरुद्ध धावा बोल्नु आजको आवश्यक्ता भएको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘संस्कृतिको क्षेत्रमा जहाँजहाँ विकृती र विकृतीहरु देखा परेका छन् त्यस्ता विकृतीहरुकोविरुद्ध यस्ता सांस्कृतिक संघहरु धावा बोल्न सक्नुपर्दछ । चाहे राजनीतिक दलहरु भित्र देखिएका विकृती हुन्, राज्य संचालनको क्षेत्रमा देखा परेका विकृती र विसंगतीका क्षेत्रहरुमा नै किन नहुन् । समाजमा देखिएका विकृतीहरुविरुद्ध धावा बोलेर तिनीहरुलाई कमजोर बनाएर समाप्त पार्नु अहिलेको आवश्यक्ता हो । ’
सांस्कृतिक रुपमा समाज बिचलित भइरहेको उल्लेख गर्दै पोखरेलले यसरी मुलुकलाई कमजोर हुनबाट जोगाउन नसकिने स्पष्ट पार्नुभयो ।












प्रतिक्रिया