१ श्रावण २०८३, शुक्रबार

पूर्वमन्त्री दीपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । पूर्वमन्त्री दीपक बाँस्कोटाले नेपाली राजनीतिमा करिब ५२ बर्ष बिताउनुभयो । नेपालको सहकारी आन्दोलनमा परिचित बाँस्कोटा २०५१ को संसदीय निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्वकालमा गृह राज्यमन्त्रीका रूपमा काम गर्नुभयो ।

विगत केही बर्ष यता बाँस्कोटा सक्रिय राजनीतिमा हुनुहुन्न । उहाँलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा,‘मैंले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ दिनुभयो ।

‘मैंले करिब ५२ बर्षअघि वीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ । सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँचदिन खानाखानु भएन । गाउँलेहरु चकित भए । यस्तो हुनुको पछाडि मलाई गोली हानेर मार्छन भनेर हो । त्यसबेला मैंले जोखिम मोलेर प्रजातन्त्रका लागि राजनीतिमा आउने निधो गरेको थिएँ,’ उहाँले राजनीति प्रवेश गर्दाको सुरुवातीको चरण सुनाउनुभयो ।

पाँच दशक क्रियाशील राजनीतिमा रहँदा असल काम भन्दापनि नेताहरुको नियतमाखोट पाएको बताउँदै उहाँले भन्नुभयो, ‘मैंले अहिलेसम्म बीपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जस्तो उचाइ भएको नेता नै भेटिन । वीपीदेखि शेरबहादुर देउवासम्मलाई झेलेको छु तर पछिल्लो समय राजनीतिमा बिकृति भित्रियो । सक्रिय हुने अवस्थै रहेन ।’

राजनीतिमा सक्रिय नभए पनि टाढा बसेर सुझाव दिइरहेको उहाँले बताउनुभयो । ‘म राजनीतिमा सक्रिय हुने परिस्थितिमा छैन । तर टाढा बसेर सुझाव दिइरहेको छु । हालैको कांग्रेस महासमिति बैठकमा पनि २३ बुँदे सुझाव पठाएँ । सुझाव ग्रहण गर्ने नगर्ने नेताहरुको काम हो,’ उहाँले भन्नुभयो ।

वीपी कोइरालाले भनेको र लेखेको कुरा बुझेर राजनीतिमा आएको बताउनुभएका बाँस्कोटाले भन्नुभयो, ‘म राजीनामा दिएको थालमा चुठ्ने काम गर्दिन । युवा पुस्तालाई राजनीति बुझेर सही गतिमा हिँडाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।

२०७८ भदौको कृष्ण अष्टमीका दिनबाट राजनीतिबाट विश्राम लिनुभएका बाँस्कोटाले राजनीतिमा चरम विकृति रहेको धारणा राख्नुभयो । विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गर्नुभएका उहाँ ०६४ पछि विस्तार राजनीतिबाट टाढा हुन थाल्नुभएको हो । ‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी नहुने उहाँको प्रतिवद्धता छ ।

बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्ने उहाँले सुनाउनुभयो । वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, संघ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको योजना छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशन मार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २५ वर्षदेखि उहाँ क्रियाशील हुनुहुन्छ । नेपालको सहकारी अभियानका एक जुझारु अभियन्ताको अलग्गै पहिचान बनाएका उहाँ विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षाको अभियानमा क्रियाशील हुनुहुन्छ । उहाँ राष्ट्रिय सहकारी महासंघ लिमिटेडका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।