शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

इरानले इजरायलमाथि आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछ : बाइडेन

दैनिक नेपाल २०८० चैत २९ गते ११:०६

वासिंगटन डिसी, २९ चैत । इरानले इजरायलमाथि हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ ।

तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बीचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेको हो । सोही सन्दर्भमा अमेरिकन राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाउनुभएको छ ।

इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले जवाफमा इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको थियो, जसको जवाफमा अमेरिकन राष्ट्रपति बाइडेनले यस्तो चेतावनी दिनुभएको हो ।

‘हामी इजरायलको सुरक्षाको लागि सक्दो गर्न गइरहेका छौँ ।’ उहाँले थप्नुभयो ।

यसअघि बुधबार इरानका नेताले दमास्कसमा इजरायली हमलालाई इरानमाथि नै आक्रमण गर्नु बराबर भएको बताउनुभएको थियो । ‘जब तिनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा आक्रमण गरे, यो हाम्रो क्षेत्रमा आक्रमण गरेजस्तै थियो ।’ अयातुल्ला अली खामेनीले टेलिभिजन भाषणमा भन्नुभएको थियो, ‘दुष्ट शासन दण्डित हुनुपर्छ, र यो सजाय हुनेछ ।’

गत अप्रिल १ मा इरानी वाणिज्य दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य नेताहरू सहित १३ जनाको मृत्यु भए पछि इरान र इजरायलकाबीचमा तनाव बढेको छ ।

बुधबार ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगै पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । ‘मैले प्रधानमन्त्री नेतन्याहुलाई भनेझैँ, इरान र यसका प्रोक्सीहरूबाट हुने यी खतराहरू विरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धता फलामको ढोका सरह हुनेछ, मलाई फेरि भन्न दिनुहोस्, फलामको ढोका ।’ बाइडेनले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित