७ श्रावण २०८३, बिहिबार

भैरवको रथ भाँचिएपछि……

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २९ चैत । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ ।

मंगलबार दिउँसो ३ बजेदेखि हजारौँ जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो । फर्काउँदा रथ बुधबार बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्‍याएको थियो । मंगलबार रातिनै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि बुधबार पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।

मंगलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुंगा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्‍याउन सकिएन ।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ । रथ जसरी पनि गःहिटी पुर्‍याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्‍याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिनुभयो ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्‍याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताउनुभयो ।