
काठमाडौं, २८ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको बताउनुभएको छ ।
नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको आज सिन्धुलीमाढीमा उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै भए पनि संस्थागत गर्ने कामविरुद्ध उभिने गरेको बताउनुभएको हो ।
कांग्रेसले यो इतिहासलाई २००७, २०४६ र २०६३ मा पनि दोहो¥याएको उहाँले स्मरण गर्नुभयो । माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
अहिले जनतामा निराशा बढेको बताउनुहुँदै पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने स्पष्ट पार्नुभयो ।
देशलाई बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यसको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्ने उहाँको भनाइ छ । त्यो सत्यलाई बुझेर नेता कार्यकर्ता पार्टी निर्माणको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । आफूले लिएको जिम्मेवारी पूरा गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया