
बागलुङ, २८ चैत । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।
ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ प्रमुख मनोज चौधरीले बताउनुभयो । निर्माण पूरा हुनासाथ गुल्मीको तम्घासको सवस्टेशन आगामी वैशाख १९ गते तथा सोही जिल्लाको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन अगामी असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख चौधरीले भन्नुभयो, ‘सबस्टेशन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीहरुले धमाधम काम गरीरहेका छन्, असारसम्म कुनै प्राविधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदी– अमराई र बुर्तिबाङ एकै पटक परीक्षण हुन्छ ।’








प्रतिक्रिया