
काठमाडौं, २३ चेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष पार्टीको नेतृत्व गर्ने बताउनुभएको छ ।
एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा २० वर्षजति अरुले आश नगरे हुन्छ भनेर आफूले यसअघि नै भनेको स्मरण गराउनुभयो ।
आफ्नो झरेको कपाल समेत अहिले पलाउन थालेको भन्दै उहाँले बताउनुभयो । एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले दया लागेर आउने उहाँले टिप्पणी गर्नुभयो । अहिले आफूहरु आराम गरेर बस्ने बेला नभएको बताउनुहुँदै अध्यक्ष ओलीले एमालेले देशलाई सही बाटोमा अगाडि बढाएर, गरिबी, भोकमरी हटाएर मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँने स्पष्ट पार्नुभयो ।
माथिल्लो पदमा पुगेपछि केही मानिसमा अंहकार देखिएको बताउनुहुँदै उहाँले पद नपाएपछि पार्टी छोडेर अरुको पछाडि लाग्ने रोग केही मानिसमा लागेको धारणा राख्नुभयो ।
एमाले शालिन पार्टी भएको समेत अध्यक्ष ओलीले बताउनुभयो । उहाँले कुनै गलत बाटोमा नलाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया