शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

दैनिक नेपाल २०८० चैत २१ गते १०:१५

काठमाडौं, २१ चैत । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो । ताइवानको दमकल विभागका अनुसार एक जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । नेपाली समय अनुसार बिहान पौन ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ । ताइवानी मिडियाका अनुसार भूकम्पपछि ताइवानका ९१ हजारभन्दा बढी घर बिजुलीविहीन छन् । भूकम्पले तार र विद्युत् आयोजनामा क्षति पुगेको छ ।

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका थिए । जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर अग्लो छाल आउने अनुमान गरेको थियो । तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी भने हटाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयोग पठाउन तयार रहेको जनाएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित