शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

दैनिक नेपाल २०८० चैत २० गते ९:११

नयाँ दिल्ली, २० चैत । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ ।

संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहनुभएका उहाँलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो ।

दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उहाँलाई न्यायिक हिरासतमा राख्न थप अनुमति दिएको हो । ईडीले केजरीवालको घरबाट प्राप्त भएको डिजिटल डिभाइसहरुको अध्ययन भइरहेको र उहाँले आफ्नो मोबाइलको पासवर्ड समेत नदिएको ईडीले अदालतमा जनाएको छ ।

अदालतको आदेशपछि केजरीवाल अब १५ अप्रिलसम्मका लागि तिहाड जेलमा रहनुहुनेछ । उहाँ जेल परेपनि दिल्लीको सरकारमा नयाँ नेतृत्व छैन, उहाँले जेलबाटै सरकार सञ्चालन गरिरहनुभएको छ । सोही प्रकरणमा आपका नेताहरु मनीष सिसोदिया, संजय सिंह र सत्येन्द्र जैन महिनौदेखि सोही जेलमा हुनुहुन्छ ।

ईडीका अधिकारीले २१ मार्चको राति केजरीवाललाई उहाँको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो ।

यता केजरीवाल नेतृत्वको आम आदमी पार्टी र अन्य विपक्षी दलहरूले भने राजनीतिकरुपमा प्रेरित भएर मोदी सरकारले केजरीवाललाई पक्राउ गरेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले हालै दिल्लीमा विरोध सभा नै आयोजना गरेर चुनावको मुखमा त्रसित भएर भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएको थियो । सरकारको यस्तो कार्यले मुलुकमा लोकतन्त्र संकटमा परेको उनीहरूको भनाइ थियो ।

विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई चुनावमा सबैलाई समान अवसर सुनिश्चित गर्नसमेत माग गरेको छ । ईडीले यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित