८ असार २०८३, सोमबार

चितवनमा जनतासँग एमाले अभियान जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ चैत । नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्नेछ।

जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउनुभयो ।

जिल्लाका ९८ वटै वडामा अभियानको वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको छ । उहाँहरुले टोलटोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाइरहेका छन् । अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियान अन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण, वडास्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरु गठन÷पुनःगठन गर्ने कामहरु भइरहेका छन् ।

यसैगरी स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरुका बारेमा अभियानका क्रममा जनतालाई सुसूचीत गराउने, वडास्तरमा रहेका संघ संस्थाहरुको विवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने काम अभियान अन्तर्गत भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

अभियानले पार्टी संगठनलाई मजबुत बनाउँदै लैजाने र पार्टी शुद्वीकरण एवम् सुदृढीकरणका लागि कोसेढुङ्गा साबित हुने विश्वास सिंगो पार्टी कमिटीले लिएको छ । साथै यसले एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्ने पार्टी कमिटीको विश्वास छ।