
काठमाडौं, १७ चैत । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने हुनुभएको छ । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उहाँ उम्मेदवार हुन अयोग्य घोषित हुनुभएको छ ।
निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ । सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी)ले उहाँलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर उहाँले अस्वीकार गर्नुभएको थियो । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उहाँलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।
८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ ।
जुमाले आफै विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहनुभएको छ ।
जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति हुनुभएको थियो । जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो ।









प्रतिक्रिया