सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एमालेको लालकिल्लाको विरासत फर्काउने गरी काम गर्छौँ : भागवत राउत

दैनिक नेपाल २०८० चैत १६ गते २१:३२

उदयपुर, १६ चैत । नेकपा (एमाले) उदयपुरका नवनिर्वाचित जिल्ला अध्यक्ष भागवत राउतले एमालेको पुरानो विरासत फर्काउने गरी काम गर्ने घोषणा गर्नु भएको छ ।

अध्यक्ष राउतले शुक्रबार एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा एमालेको विरासत फर्काउने गरी काम गर्ने बताउनुभएको हो ।

एमाले उदयपुरमा गुट छ भन्ने कुराको अन्त्य भएको उद्घोष गर्दै अध्यक्ष राउतले आफूले निवर्तमान अध्यक्ष प्रमेश्वर घिमिरेलाई पराजित गरेको कसैले भन्छ भने त्यो गलत हुने बताउदै एमाले उदयपुरको नेतृत्व गर्ने ड्राइभर मात्र फिरिएको जिकिर गर्नुभयो । उहाँले एमाले उदयपुरको पुरानो विरासत फर्काउन आफू सँधै निवर्तमान अध्यक्ष घिमिरेलाई साथमा लिएर हिँड्ने भन्दै अब एमाले उदयपुर एक ढिक्का भएको दावी गर्नुभयो । अध्यक्ष राउतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको नेतृत्वले प्रमेश्वर घिमिरेलाई तत्काल एउटा जिम्मेवारी दिनु पर्ने माग समेत राख्नु भयो ।

कार्यक्रममा बोल्दै एमाले उदयपुरका निवर्तमान अध्यक्ष प्रमेश्वर घिमिरेले अध्यक्ष राउतले भने झैँ अहिले ड्राइभर मात्र फेरिएको तर आफू पनि सधैं एमालेको मिशन ८४ को महाअभियानमा यही टीममा लागेर एमालेलाई पचास प्लस एकको अवस्थामा पु¥याउन लागि पर्ने बताउनु भयो । गत चैत्र १३ गते उद्घाटन भएको जिल्लाको नवौं जिल्ला अधिवेशनले आउँदो तीन वर्षका लागि भागवत राउतको नेतृत्वमा १ सय ५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटीका अध्यक्ष तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् उदयपुर इन्चार्ज परशु मेघी गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित