सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

दैनिक नेपाल २०८० चैत १६ गते १३:५५

काठमाडौं, १६ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिनका लागि आज विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ । नेपाली काँग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले फेरि विश्वासको मत लिनु पर्ने भएको हो ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ ।

तर हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सामेल भएको विषय विवादित बनेपछि सरकारले विश्वासको मत पाउनेमा थप अन्योलता भने बढेको छ । हनेपाका अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णयविरुद्ध गएका भन्दै संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सीट छ ।

प्रतिक्रिया
सम्बन्धित