शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

वरिष्ठ साहित्यकार सुवेदीको निधन

दैनिक नेपाल २०८० चैत १४ गते १३:५३

मोरङ, १४ चैत । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिनुभएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गर्नुभएका उहाँका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गर्नुभएका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन् । सुवेदीका नाममा उहाँका छोराहरुले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गर्नुभएको छ । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदैआएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिनुभयो ।

सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित