६ असार २०८३, शनिबार

अरविन्द केजरीवाल : भ्रष्टाचार विरोधले उठायो, रक्सीले डुबायो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाउनुभएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ ।

भ्रष्टाचार विरुद्ध चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट हुनुभएको थियो केजरीवाल ।

केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिनुभएको छ । यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई मदिरा बिक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ  ।

लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँडीमा पुगेपछि उहाँका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राति पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ ।

केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उहाँ प्रक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भैरहेको छ ।

पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उहाँ लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा हुनुहुन्थो ।

दशक अगाडिको उदय

भारतमा भ्रटाचार विरोधी आन्दोलनबाट उदाउनुभएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसक्नुभएको छ । करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अभियानकै कारण पत्याएका उहाँ भातीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाउनुभएन । सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभरिएका केजरीवालले निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोवर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आम आदमी पार्टी नामक पार्टीको स्थापना गर्नुभयो ।

केजरीवालले एकल हातले दिल्ली र पञ्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिन्ह राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गर्नुभयो । तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो । किनभने केजरीवालले दिल्ली विधानसभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिनुभएको थियो ।

त्यस्तै, सन् २०१५ को विधानसभा चुनावको दौडमा, उहाँले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी माग्नुभएको थियो र फेरि राजीनामा नगर्ने बाचा गर्नुभएको थियो । दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना गर्नुभयो । तर हार चाख्न पुग्नुभयो ।

आफ्नो ’भ्रष्टाचार विरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरुलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल हुनुभयो । अहिले उहाँको पार्टीले राम्रै लय समाइरहेको छ । यद्यपि उहाँ भने गम्भीर आरोपको सामना गरिरहनुभएको छ ।

के अब जेलबाटै राजकाज ?

केजरिवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ  । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन् ।

आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् ।

यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ । राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने भएकाले जेलबाट सरकार चलाउन भने असम्भवप्रायः छ ।