११ श्रावण २०८३, सोमबार

‘निर्देशक हराएको सूचना’माथि सिनेमा संवाद

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन ‘निर्देशक हराएको सूचना’ नामक सत्रमा नेपाली निर्देशकहरुबीच संवाद भएको छ । दीपकराज गिरी, झरना थापा र रामबाबु गुरुङ वक्ता सत्रमा नेपाली फिल्मको व्यवसायिकता, कलात्मकता तथा त्यसमा हराइरहेको निर्देशकको अवस्थाबारे छलफल भएको हो ।

कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार गिरीले सिनेमा टिमवर्क भए पनि त्यसलाई निर्देश गर्ने निर्देशकले रहेको बताउनुभयो । ‘ड्राइभरलाई सहचालकले सहयोग गर्छ, त्यसको मतलब सहचालक चालक हुँदैन । म मैले काम गर्ने सबै डिरेक्टरसँग क्लोज हुन्छु । सुरुमै डिस्टर्ब गरिराख्छु है भनेर भन्छु । त्यो हस्तक्षेप होइन त्यसलाई लिने नलिने त्यो डिरेक्टरको निर्णय हो,’ उहाँले भन्नुभयो, ‘हामीले बनाउने सोसल ड्रामामा सबै दैनिक जीवनमा भइरहने दृश्य भएकाले निर्देशक हराएको जस्तो देखिएला । कुनै जनरामा निर्देशकको धेरै काम धेरै हुन्छ । त्यस्तोमा हराउने हुँदैन ।’

कहिलेकाहीँ सिर्जनात्मकता नपुगे पनि सबै फिल्मलाई एउटै टोकरीमा हालेर हेर्न नहुनेमा पनि उनले जोड दिनुभयो । गिरीको भनाइमा सहमति जनाउँदै निर्देशक झरना थापाले भन्नुभयो, ‘यो टिमवर्क भएकाले कहिले क्यामेराम्यानको काम बढी देखिन्छ, कहिले कलाकारको काम बढी देखिन्छ । तर, सबै कथा विषयबस्तुलाई समेटेर लैजाने निर्देशक नै हो ।’

झरनाको भनाइमा जोड्दै अर्का निर्देशक रामबाबु गुरुङले भन्नुभयो, ‘बजारमा के बिकिरहेको छ भन्नेमा, बढी स्टारकास्टमा निर्भर हुँदा, राम्रो प्रोड्युसर, प्राविधिक हुँदा निर्देशक हराएजस्तो देखिन सक्छ । सँगै आँखामा पनि भर पर्छ ।’ दर्शक, समीक्षकले कसरी हेरिरहेका छन्, निर्देशकले के भनेको छ, के छुटाएको छ, गलत तरिकाले व्याख्या गरेको छ कि भन्ने जस्ता कारणले आफू पनि कुनै फिल्ममा हराएकोजस्तो लाग्ने उहाँले सुनाउनुभयो ।

नेपालमा राम्रा फिल्मको बहसका बारेमा बोल्दै दर्शकको दृष्टिकोणमा भर पर्ने गिरीले बताउनुभयो । ‘सबैलाई एउटै कुरा राम्रो नलाग्न सक्छ । दर्शकको हुर्काइ, बुझाइमा भर पर्छ । राम्रोको मापदण्ड व्यवसायिक हो कि कलात्मकता हो ?’ उहाँले भन्नुभयो, ‘दर्शकले कुनै फिल्म आफ्नो च्वाइसमा राख्नु राम्रो हो कि होइन ? त्यसरी हेर्दा यदि मेरो सिनेमा नराम्रो हो भने दर्शक पनि नराम्रो हो ।’ तर आफूले भन्न खोजेको कथा इमानदारिताका साथ भन्नुपर्ने र हेर्नेले पनि सबै फिल्म एउटै चस्माले हेर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

मेकरले आफ्नो सिनेमा चलाउनका लागि जति मेहेनत गरे पनि दर्शकलाई मन नपरेमा दर्शकले साथ नदिने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक दुई शो चले पनि झुक्काएको हो भने दर्शकले थाहा पाइहाल्नुहुन्छ । हामी नै एकजुट हुन जरुरी छ । आन्तरिक रुपमा एक अर्का फिल्म हेरेर प्रतिक्रिया दिने सही मूल्यांकन गरेको देखिँदैन ।’ सबैले आफ्नो आफ्नो स्वादको फिल्म बनाए पनि हेर्न लायक फिल्म छ भने त्यसलाई सबैले साथ दिनुपर्नेमा गुरुङले पनि सहमति जनाउनुभयो ।

नेपाली फिल्म क्षेत्रले दर्शकलाई नयाँ स्वाद पस्किन नसकिरहेको प्रसंगमा बोल्दै गिरीले यसमा व्यवसायिकताको बोझ सबैभन्दा मुख्य कारण रहेको बताउनुभयो । ‘निर्माताको दृष्टिकोणबाट भन्दा पहिलो धर्म लगानी सुरक्षित होस् भन्ने हो । हामी यस्तो अवस्थामा छौं कि बजार यसै सानो छ, अलिकति तराई गयो दर्शक कम छ । अलि माथि गए हिमाली क्षेत्र आउँछ । सीमित ठाउँमा सीमित दर्शक आउँछन्,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्थामा कलात्मकता अलि बढी भएको फिल्म बनाउँ भन्दा पनि निर्माता कम्तीमा लगानी सुरक्षित होस् भन्ने चाहन्छ ।’ चुनौतीको सामना गर्दै नयाँ पुस्ताका लागि दायित्वबोध गर्ने बेला आएको उहाँले जनाउनुभयो ।

आफूले कला क्षेत्रलाई गर्ने प्रेमका कारण अहिलेसम्म यस क्षेत्रसँग जोडिएको र बाँकी समय पनि आफूले सक्ने कर्म गरिरहने निर्देशक थापाले बताउनुभयो ।

‘सिनेमा जति अभिनय गरियो, यसलाई कसरी निरन्तरता दिन सकिन्छ ? आफू पनि रहौं, यो क्षेत्रलाई अगाडि पनि बढाउँ भन्ने सोच्दै जाँदा समयले अनुभवले निर्देशनमा आएँ,’ उहाँले भन्नुभयो, ‘ए मेरो हजुर व्यवसायिक रुपमा राम्रो हुँदै गर्दा एक भागवत गीता बनाउने प्रयास गरेँ । एउटा निर्माता खसेपछि उठ्न समय लाग्छ ? म नमरुन्जेल यही क्षेत्रमा रहन चाहन्छु । त्यसकै कारण पैसा समय लगानी गरिरहेकी छु ।’ साथै नयाँ पुस्ताका लागि सहज वातावरण निर्माणमा आफ्ना भूमिका निर्वाह गर्नेमा पनि उहाँ सकारात्मक देखिनुभयो ।

एउटा बच्चा जन्मेपछि हिड्न, दौडने प्रक्रिया भए जस्तै नेपाली सिनेमाले पनि आफ्नो कथा भन्न थालेको, आफ्नो शैली बनाएको र अन्य सुधारकार्य प्रक्रियामा रहेको गिरीले बताउनुभयो ।

त्यस्तै गुरुङले आफ्नो कमजोरी पत्ता लगाउँदै जाने र निर्देशकले दर्शकले खोजिराखेको जस्तै सिनेमा मात्रै नबनाएर नयाँ स्वाद पस्किने कोसिस गर्नुपर्ने बताउनुभयो ।