२३ जेष्ठ २०८३, शनिबार

करफोकमा गुञ्जियो नेपथ्य

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ४ चैत । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ करफोकमा । नजिकै राजमार्ग र विद्यालय भएपनि करफोकको यो ठाउँ प्रायशः सुनसान रहन्छ । खासै मानिसहरूको चहलपहल देखिदैन । तर शनिबार बेलुकी भने यहीको सुनसान फाँटमा हजारौँ दर्शक जम्मा भए– नेपथ्यको कन्सर्ट हेर्न । सधै सहर बजारको भीड अघिल्तिर उभिने नेपथ्यले यसपटक पाँच हजार मिटर उचाइमा प्रकृति र संगीतको समागम खडा गर्‍यो । पातलिँदो पहाडका बस्तीबाट जम्मा भएको हजारौँको भीड नेपथ्यसँगै झुम्यो ।

कन्सर्ट सुरु हुनुभन्दा केही घण्टा अगावै फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरु भएको थियो । निकै परबाट आएका दर्शकहरु आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै थिए । चार बजे बेलुकी ढोका खुलेपछि उनीहरु अलिअलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन सुरु गरे । बेलुकीको ६ बज्दा कन्सर्ट सुरु भयो । मञ्चमा उक्लिनुभएका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गर्नुभएको थियो ।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहनुभएको थियो, ‘बबाल रमाइलो लाग्यो ।’ फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनेको सूर्योदय नगरपालिकाको सीमास्थित करफोक भारतसँग जोडिएको छ ।

‘नेपथ्यको उपस्थितिलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रुपमा पनि लिएका छौं,’ नगरप्रमुख रणबहादुर राइले भन्नुभयो, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ ।’

कूल भूभागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनि ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्ने गरेको छ । देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भूभागका रमाइला चियाबारी र धुपी सल्लाका जंगलहरु यस भेगमा जताततै पाइन्छन् । पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब ब्यापक स्तरमा पर्यटकहरुलाई निम्त्याउन तम्तयार छ ।

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गर्नुभयोः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गर्नुभयो । यसपालाको कन्सर्टमा सधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरु लगायत भर्खरै रिलिजभएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो ।

युवायुवतीको बाहुल्यता रहेको भीडमा दर्शकहरुबीच विविधता पनि उत्तिकै देखिन्थ्यो । राजधानी काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताउनुभएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गनथाल्नुभएको छ । शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उहाँ पनि भेटिनुभयो । ‘धेरै पहिलेदेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाई बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहनुभएको थियो, ‘अमृतजीको उर्जा हामी सबै दर्शकहरुमा विस्तारहुँदा गज्जब रमाइलो लाग्दो रहेछ ।’

इलामको गढीथुम्कामा निर्माणाधीन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुती थियो ।

‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भन्नुभयो, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गर्नुभएको थियो । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए । यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो । कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थियो ।