२३ असार २०८३, मंगलबार

क्यानडाका प्रधानमन्त्री भन्छन्- हरेक दिन राजीनामा दिउँ भन्ने लाग्छ, तर चुनाव अघि दिन्न

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताउनुभएको छ । उहाँले हरेक दिन राजीनामा दिने बारे आफूले सोच्ने गरेको धारणा व्यक्त गर्नुभएको छ ।

रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु । राजीनामा दिने विचार दिनहुँ आउँछ ।’ यो भनाईलाई ट्रुडो आफैले पागल कुराको रुपमा पनि टिप्पणी गर्नुभएको छ ।

जस्टिन पियरे जेम्स ट्रुडो २०१५ को नोभेम्बरमा क्यानाडाको २३ औं प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ सन् २०१३ देखि लिबरल पार्टीको नेता पनि हुनुहुन्छ । क्यानडामा अर्को वर्षको अक्टोबरमा आम चुनाव हुँदैछ ।

आगामी चुनावको तयारीमा रहेको उहाँको पार्टी र उहाँ सर्वेक्षण अनुसार पछाडि हुनुहुन्छ । अहिले लिबरल पार्टी भन्दा कन्जरभेटिभ पार्टी क्यानडामा सशक्त रुपमा अघि बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो समय लोकप्रियता पनि गुमाउँदै गएका प्रधानमन्त्री ट्रुडोले चुनाव अगाडि भने राजीनामा नदिने पनि रेडियो अन्तर्वार्तामा भन्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘म लोकप्रिय बन्नको लागि राजनीतिमा आएको होइन र राजनीतिमा आउनुको मेरो कुनै व्यक्तिगत कारण पनि छैन । म जनताको सेवा गर्नको लागि राजनीतिज्ञ बनेको छु र त्यो गरिरहेको छु भन्ने मलाई थाहा छ ।’

ट्रुडो प्रधानमन्त्री हुनुअघि शिक्षक हुनुहुन्थो । क्यानडाको इतिहासमा जो क्लार्कपछि उहाँ दोस्रो कान्छो प्रधानमन्त्री हुनुहुन्छ ।

उहाँका पिता पियरे ट्रुडो क्यानडाका प्रधानमन्त्री पनि हुनुहुन्थो । पियरे र जस्टिन क्यानडाको प्रधानमन्त्री हुने पहिलो बुवा छोराको जोडी पनि हो ।