२५ जेष्ठ २०८३, सोमबार

‘प्रविधिको विकासले गीतसंगीको क्षेत्र जादुगर जस्तो भैदियो’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । ‘जापान टोकियो….मैले चिठि पठाकै थिएँ कता रोकियो..’ देखि ‘तिमीले दिएको बुट्टे रुमाल सम्झना…. हेरि रहौं हेरि रहौं लाग्यो..’ लगायतका चार सय भन्दा बढी गीतमा स्वर भरिसक्नुभएका विगत दुई दशकदेखि लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक हुनुहुन्छ गायक बिमलराज क्षेत्री ।

२०५६ सालबाट गायन यात्रामा आउनुभएका क्षेत्रीले लोक दोहोरी क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुभयो । पछि उहाँले गाएको ‘बल्लै भो भेट..’ शब्दको दोहोरी गीतले चर्चाको शिखर नै चुम्यो । त्यसपछि जीवनमा कहिले पनि पछाडि फर्केर हेर्नुनपरेको सुनाउँनुहुन्छ क्षेत्री ।

नेपालमा प्रविधिको विकाससँगै नेपाली लोकदोहोरी संगीतको समेत उन्नति भइरहेको संगीतसाधक क्षेत्रीले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘नेपालमा भित्रिएको डिजिटल प्रविधिले र सामाजिक सञ्जालसँगै नेपाली गीत संगीत र नेपाली लोक दोहोरी क्षेत्रको पनि विकास भएको छ । ठूलो उतारचढाव आएको छ र प्रभाव पारेको छ ।’

पहिले कुनै समुदायको गीत सुन्न चक्का किन्नुपर्ने र त्यो चक्का पनि जहाँसुकै नपाईने अवस्थामा थियो,अहिले गीत संगीतको बजारिकरणमा सूचना प्रविधिको विकासले टेवा पुगेको अनुभव क्षेत्रीको सुनाउनुभयो । ‘मूलतः गीतसंगीतको धार पुरानै हो । संगीत क्षेत्रमा पुराना संगीतकारले पनि नयाँ धारबाट गीत बजारमा ल्याउन लागेका छन् । जस्तो मेरो ‘फुलबुट्टे रुमाल..’ त्यो पुरानै गीत भएपनि यसलाई नयाँ शैलीमा फेरि ल्याएको छु । नयाँ जमानासँगै संगीत पनि निखारिँदै आएको छ ।’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाल र प्रविधिका कारण पहिलेको भन्दा नेपाली गीतहरुको व्यवसायिकरण समेत सजिलो भएको क्षेत्री बताउँनुहुन्छ । ‘पहिलेको तुलनामा गीतसंगीतको व्यवसाय गर्न सजिलो छ भने नयाँ प्रतिभा उत्पादन गर्न पनि सहज हुँदै गएको छ । नयाँ प्रतिभा प्रस्फुटन गर्ने विभिन्न प्लेटफर्महरु पनि आएका छन् । सबैको हातमा मिडिया छ । हरेक मान्छे सम्पादक भएका छन् । आफ्नो फेसबुक सबैको हातमा छ । कलाकारसँग प्रतिभा छ भने आफैं मिडिया भइहाल्यो नि’ क्षेत्रीले भन्नुभयो ।

पहिले औंलामा गन्न सकिने कलाकारको भिडमा स्थापित हुनुपर्ने अवस्थामा स्थिति रहेकोमा अब धेरै दर्शकको भिडमा स्थापित हुनुपर्ने चुनौति थपिएको क्षेत्रीको बुझाई छ । ‘कलाकारिता क्षेत्रमा आउन जति सजिलो छ, उत्कृष्ट कला चलाउन पनि त्यत्तिकै सजिलो छ । पछिल्लो समय गीतसंगीत क्षेत्र कस्तो भैदियो भने जादुगर जस्तो क्या । मेला महोत्सवमा कुनै कलाकार गयो भने कुनैबेला जताततै माग हुने, व्यवसायिक हिसाबले पनि राम्रो हुने त्यसपछाडि गायब भैदिने खालको संगीत पनि छ । तर, व्यवसायिक हिसाबले गज्जब राम्रो भएको छ । हिजो डिजिटलले खाइदिने, कम्पनी खाएर भागिदिने हुन्थ्यो । अहिले जति आउँछ आफ्नै नाममा आउँछ ।’ प्रविधिको विकाससँगै संगीतको उपलब्धता पनि सजिलो भएको क्षेत्रीको भनाइ छ ।

संगीतसँगै लोकदोहोरी क्षेत्रमा व्याकरणको विकास हुँदै गइरहेकाले शब्द संकलनमा समेत सजिलो भएको क्षेत्रीले बताउनुभयो । नेपाली बजारमा दुईथरीका कलाकार रहेको उल्लेख गर्दै क्षेत्रीले भन्नुभयो, ‘नेपालमा दुईथरिका कलाकार छन् । एकथरि संगीतमा साधना गर्छु, मेहेनत गरेर जीवन्त काम गर्छु भन्ने अठोट भएका छन् भने दर्शकले जति माया गरेपनि जस्तो आम्दानी रहेपनि गर्छु पनि भन्छन् । अर्कोथरि कस्तो छन् भने, होइन म त पहिला स्टेज पर्फम गर्छु । भाइरल हुन्छु । त्यसपछि एल्बम निकाल्छु र त्यो पनि भाइरल कसो नहोला भन्ने सोच्छन् । तर उनीहरुको संगीतप्रति समर्पण छैन ।’

मेला र महोत्सवहरुले समेत संगीतमा साधना गरेका उत्कृष्ट कलाकारहरुको अपमान गरेको बताउँदै क्षेत्रीले महोत्सवलाई महोत्सवकै रुपमा बुझाउन आवश्यक रहेको बताउनुभयो । जसकारण मेला महोत्सवमा आउने गीतप्रेमी दर्शकले संगीतको प्यास मेट्न नपाउँदै फर्किने गरेको उहाँको बुझाई छ । उहाँले भन्नुभयो, ‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउँनुछ । ४० वर्षका क्षेत्रीलाई अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर पनि छ ।’