१५ असार २०८३, सोमबार

हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिनुभएको छ । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिनुभएको हो ।

विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भू–भागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताउनुभएको अल जजिराले जनाएको छ ।

पदबाट राजीनामा दिएपछि अब नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रुपमा रहनुहुनेछ ।

उहाँले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद स्थापना गर्ने र परिषदले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताउनुभयो । आफू हाइटीको हान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गर्नुभयो ।

हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका जानुभएको थियो । विद्रोही समूहले राजधानी पोर्ट–ओ–प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन पाउनुभएको थिएन । उहाँले उतैबाट भिडियो सन्देश जारी गर्नुभएको हो ।

हेनरी अहिले अमेरिकाको पोर्टो रिकोमा रहेको बताइएको छ । हाइटीमा हिंसाका कारण त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएका छन् ।