
काठमाडौं, ३० फागुन । आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।
आइतबार पद तथा गोपनियताको सपथ लिनुभएका राष्ट्रपति जरदारीले मंगलबार यस्तो घोषणा गर्नुभएको हो ।
जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निर्णय गरेको उहाँको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ट्विटर (एक्स) मार्फत जानकारी दिएको छ ।
राष्ट्रिय कोषमा भार नपार्ने उद्देश्यले राष्ट्रपतिले आफ्नो पारिश्रमिक त्यागेको बताइएको छ । यो उल्लेखनीय छ कि पूर्वराष्ट्रपति आरिफ अल्वीले प्रति महिना ८ लाख ४६ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक बुझ्ने गर्नुभएको थियो ।
राष्ट्रपतिको तलब सुविधा संसदले पारित गर्ने प्रचलन छ । पाकिस्तानमा सन् २०१८ देखि उक्त सुविधा राष्ट्रपतिले पाउँदै आएका थिए ।
जरदारी पाकिस्तानका सबैभन्दा धनी राजनीतिज्ञ मध्ये एक हुनुहुन्छ । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का सह–अध्यक्ष आसिफ अली जरदारीले आइतबार पाकिस्तानको १४औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभएको थियो ।
इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले जरदारीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
सैन्य शासकहरूलाई छोडेर, जरदारी दोस्रो पटक राष्ट्र प्रमुखको पद ग्रहण गर्ने पाकिस्तानको पहिलो नेता बन्नुभएको छ । यसअघि उहाँले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पद सम्हाल्नुभएको थियो ।
यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आफ्नो तलब छोड्ने निर्णय गर्नुभएको छ । नकवीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई पनि यसको कारण बताउनुभयो ।








प्रतिक्रिया