
काठमाडौं, २७ फागुन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र वेरोजगारी भोग्नुपरेको बताउनुभएको छ ।
रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताउनुभएको हो । उहाँले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताउनुभयो । ‘
आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ। जुनप्रकारले नेपाली युवाहरु विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छु,’ गिरीले भन्नुभयो ।
उहाँले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको दाबी गर्नुभयो । ‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता,वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दापनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो,’ उहाँले भन्नुभयो ।यस्तै उहाँले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको स्पष्ट पार्नुभयो ।
‘हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने , अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछी त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ। खेर गइरहेको छ। हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छु, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गर्नुभयो । गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गर्नुभयो ।
‘विगतको एक वर्ष फर्केर हेर्ने हो भने त यति पट्यारलाग्दो अवस्था भयो, यति निसासिदो अवस्था भयो सारा जनताहरुमा निराशा बढेको छ, विश्वविद्यालय(क्याम्पसहरु खाली भएका छन्। नेपाली युवाहरु दिनको २१ सय संख्यामा विदेश पलायन भइरहेका छन्, उहाँले भन्नुभयो’ यो देशमा सारा उद्योग-व्यवसाय गर्छु भन्ने मान्छेहरु बैंकको व्याज तिर्न नसकेर मान्छे झुण्डिएर मर्ने स्थिति श्रृजना भएको छ, संसद भवन अगाडि आएर आफूलाई पेट्रोल खन्याएर आगो लगाएर मर्नुपर्ने अवस्था आएको छ।]









प्रतिक्रिया