३१ जेष्ठ २०८३, आइतबार

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्नुहुनेभएको छ ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तरक्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्नुहुने भएको हो । सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटन दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ ।

दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा निशुल्क अवलोकन गर्न पाइनेछ ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराउनुभएको छ ।

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नुहुनेछ भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नुहुनेछ । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् ।

छलफलका शृंखलाअन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनुहुनेछ भने शनिबार नै फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनुहुनेछ ।

शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनुहुनेछ । सबै सेसनहरु पर्यटन बोर्डमा सञ्चालन हुने छन् भने सुत्र टिभी, निफ लगायत विभिन्न समाजिक सञ्जालहरुबाट प्रत्यक्ष प्रसारण हुने छ ।

विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ ।

महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यो सालको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।