
प्यूठान,२३ फागुन। प्यूठानको सबैभन्दा लामो पुल निर्माणका लागि बुधवार ठेक्का (बोलपत्र) आव्हान भएको छ।
जिल्लाको गौमुखी गाउपालिका अर्खाको लामीडाँडा र रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्न सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले ठेक्का आव्हान गरेको हो। डिभिजन कार्यालयका प्रमुख कुमार थापाले गौमुखीमा पुल निर्माण गर्न सोमबार बोलपत्र आव्हानको सुचना प्रकाशन गरिएको जानकारी दिनुभयो।
प्यूठानका संघीय सांसद एवम् नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाको पहल र विशेष सक्रियतामा पुल ठेक्का प्रक्रियामा गएको हो । सांसद थापाले सबैको साझा प्रयासका कारण पुल निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो। ‘पुलको ठेक्का लाग्ने गरि सवै प्रक्रिया अघि बढ्दा खुसी लागेको छ,’ उहाँले भन्नुभयो, ’वडा, गाउँपालिका र मैले माथि गरेको पहलको परिणाम हो।’
उक्त पुल आवतजावतका साथै पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुने सांसद थापाको बिश्वास छ । ३ सय ६५ मिटर लम्बाई र १ सय ८० मिटर उचाई रहने उक्त पुलका लागि संघीय सरकारले करिब ३ करोड ७५ लाख रुपैंया बजेट सुनिश्चित गरेको जनाइएको छ ।
पछिल्लोपटक गौमुखीको लामीडाँडामा सांसद सूर्य थापा, गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी, पार्टीका नेताहरु र इन्जिनियरसहित स्थानीय को उपस्थितिमा पुलको डिपीआरको बारेमा छलफल आयोजना गरिएको थियो।









प्रतिक्रिया