२३ जेष्ठ २०८३, शनिबार

डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रंगशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

रंगशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उहाँले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताउनुभयो ।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रंगशालामा पूर्वाधार विकास गर्न नसकिएको उहाँको भनाइ थियो ।

“बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौँ खर्च भइरहेको छ । सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रंगशाला संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राम्रो रंगशाला बनाउन तपाईँहरूसँगै म पनि लाग्छु ।”

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उहाँले जनस्तरबाट सहयोग सङ्कलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल सङ्कटा र एपिएफबीच हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकप यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले नगद रू १३ लाख पाउनेछन् भने उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । गोल्डकप आयोजना गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान छ ।