
काठमाडौं, १२ फागुन । नेकपा (एमाले)का केन्द्रीय कमिटीका महिला सदस्यहरुले महिला नेताहरुले आफूलाई जिम्मेवारी पूरा गर्न आइपर्ने समस्याहरु बारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सुनाएका छन् ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको संयोजनमा केन्द्रीय कार्यालयमा भएको अन्तरक्रियामा महिला नेताहरुले आफूलाई जिम्मेवारी पूरा गर्ने क्रममा भएका समस्याहरु सुनाएका हुन् ।
छलफलमा भाग लिएका १२ जना महिला केन्द्रीय सदस्यहरुले आफूले भोगिरहेका समान किसिमका पाँचवटा चुनौती पार्टी नेतृत्व समक्ष राखेका छन् ।

उनीहरुले चुनावी प्रतिष्पर्धा गर्न आर्थिक समस्या हुने गरेको, महिला केन्द्रीय सदस्यहरुलाई पार्टीका मातहतका कमिटीहरुले पनि उचित स्थान दिन कन्चुस्याइ गर्ने गरेको, पार्टीको भूमिका पनि साहायक पद (सहइन्चार्ज, उपप्रमुख, उपाध्यक्ष उपसचिव)मा मात्र स्थान दिने गरेको, प्रत्यक्ष चुनावमा प्रतिष्पर्धा गर्न खोज्नेलाई पनि कमजोर ठाउँमा मात्र टिक दिइने गरेका समस्याहरु उठाएका छन् ।

यसैगरी, एमालेले महिला आन्दोलनलाई विश्वमा देखिने गरी सम्मान गरेकोमा उनीहरुले खुशी पनि व्यक्त गरेका छन् । महिला राष्ट्रपति, पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला आरक्षण, संसदमा ३३ प्रतिशत महिला, स्थानीय तहमा प्रमुख पदमा महिला पाएकोमा आफूहरुले गौरव गरेको उनीहरुले बताएका छन् ।

आजको छलफलमा भगवती नेउपाने, सरिता नेउपाने, भगवती चौधरी, बिमला घिमिरे, शान्ती ढकाल, कमला बोहोरा, कल्पना थापा, टुका हमाल लगायतले धारणा राख्नु भएको थियो ।
केन्द्रीय सदस्यहका गुनासा र प्रशंशा सुनेपछि अध्यक्ष ओलीले महिलालाई राजनीतिको उच्च ठाउँमा स्थान दिने एमाले बाहेक अर्को दल नभएको बताउभयो । उहाँले पार्टीका महिला केन्द्रीय सदस्यहरुलाई आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले महिला आन्दोलनलाई एमालेले नै स्थापित गरेकोले यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मा पनि एमाले कै भएको बताउनुभयो । उहाँले महिलाहरुले आरक्षणको मात्र आकांक्षा राख्ने भन्दा पनि खुला प्रतिष्पर्धामा उत्रन पनि आँट गर्नुपर्ने बताउनुभयो । पार्टीले तयारी गरेको आन्दोलनमा महिलाहरुको उल्लेख्य सहभागिता बढाउन उहाँले सबै केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।
केन्द्रीय सदस्य पार्वती रावलका अनुसार छलफलमा महासचिव शंकर पोखरेलले जो जुन जिम्मेवारीमा भए पनि इमान्दारितपूर्ण ढंगले काम गर्न सबैलाई निर्देशन दिनुभएको छ ।

एमालेले महिला नेतृत्वको विकास गर्न चाहेको छ र सोही अनुसार अवसर पनि दिएकोले यस अवसरलाई उचित सदुपयोग गर्न महासचिव पोखरेलले निर्देशन दिनुभएको थियो ।









प्रतिक्रिया