
काठमाडौं, १२ फागुन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ईश्वरी रिजालले विचार सामाजिक शक्ति भएको बताउनुभएको छ ।
एमाले रामेछापको स्कुल विभागले शनिबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै रिजालले विचारले नबाँधिएका मानिसमा विचलन आउने बताउनुभयो । ‘हाम्रो विचारलाई सामाजिक शक्तिको रूपमा परिणत गराउन सक्यौँ भने हामीलाई कसैले पराजित गर्न सक्दैन, विचार ठूलो शक्ति हो’, रिजालले भन्नुभयो ।
हेराइको तरिका नबदलिँदासम्म सोचाइ नबदलिने उहाँले बताउनुभयो । सोचाइ नबदलेसम्म व्यवहार परिवर्तन गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । नेपाली समाज बदल्नको लागि सबैभन्दा पहिला नेपाली समाजलाई बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो । प्रतिक्रियावादीले समाजलाई बुझ्नै अवसर नै नदिएको कारण समाज बदल्ने काममा जटिलता भएको उहाँले बताउनुभयो ।
समाज बदल्नको लागि समाजको विचार र चेतना बदल्नु पर्नेमा रिजालले जोड दिनुभयो । समाजमा रहेको विकृति र विसङ्गतिका विरुद्ध सम्झौता होइन सङ्घर्ष जरुरी रहेको रिजालले बताउनुभयो । राजनीतिक दलका नेता यस्ता कुरामा अघि लाग्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । यथास्थितिमा बसेर समाज परिवर्तन सम्भव नभएको रिजालले बताउनुभयो । त्यसको अगुवाइ एमालेका नेता कार्यकर्ताले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एमालेको परिकल्पना समृद्ध नेपाल सुखी नेपाली रहेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सत्ता गठबन्धनको लक्ष भने विपन्न नेपाल दुःखी नेपाली भएको उहाँले बताउनुभयो ।
जनताबाट विस्थापित भएकाहरू एक्लै चुनावमा जान नसकेर गठबन्धन बनाउन पुगेका रिजालले बताउनुभयो । उनीहरू एमालेलाई कमजोर बनाउने प्रयत्नमा रहेका भए पनि त्यो सम्भव नभएको उहाँको भनाइ छ । ‘एमाले इतिहासकै सबैभन्दा शक्तिशाली भएको छ ।’ रिजालले भन्नुभयो ।








प्रतिक्रिया