२७ जेष्ठ २०८३, बुधबार

नापतौलमा ठगी गर्नेलाई जरिवाना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १२ फागुन । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा कारबाही गरेको जनाएको छ । कार्यालयबाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त सङ्ख्यामा कारबाही गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले चालू आवको सात महिनामा सात सय ६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरिएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा उद्योगीलाई २०८०/८१ को साउनदेखि माघसम्ममा सो इजाजतपत्र प्रदान गरिएको जनाइएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले सात महिनाको अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको यन्त्रको जाँचसमेत गरिएको प्रमुख दासले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ पम्पको नोजल जाँचलगायत जाँच गरिएको छ ।

कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौ पटक संयुक्त अनुगमन भएको थियो । चालू आवको हालसम्म रु ७३ लाख सात हजार आठ सय ५९ राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिनुभयो ।

हेटौँडाको औधौगिक क्षेत्रमा रहेको नापतौल विभागको ट्याङ्कर ‘क्यालिविरेशन’को कार्यालयमा भौतिक साधन, बजेट तथा कर्मचारीको अभावले काम गर्न समस्या भइरहेको कार्यालयका अधिकृत नयन आचार्यले बताउनुभयो ।