३ असार २०८३, बुधबार

कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमायो : विष्णु रिमाल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले कांग्रेस अहिले एजेण्डा विहीन रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले मुल प्रतिस्पर्धी पार्टी एमाले र कांग्रेस मात्रै भएको भए पनि कांग्रेस अहिले एजेण्डा विहीन भएको बताउनुभयो ।

‘मुल पार्टी एमाले र कांग्रेस मात्रै हो । प्रतिस्पर्धा पनि यही दलबीच हुने हो । हामीले अहिले एजेण्डामा बसह गर्ने भनेका छौं तर कांग्रेस अहिले एजेण्डामा छैन । गठबन्धन गरेनौं भने चुनाव हार्छौँ भनेर लागिरहेको छ । चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन । प्रतिस्पर्धाको कुरा हुन्छ नि । त्यसमा हामीलाई अनौठो लागेको छ ।’ उहाँले भन्नुभयो ।

उहाँले राजनीतिक दलहरु एजेण्डाको रुपमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । ‘एमालेले सुरुदेखि के भनिरहेको छ भनेदेखि दलहरुले सिन्डिकेटको आधारमा होइन । माओवादी, कांग्रेस र समाजवादी पार्टी मिलेर बनेको गठबन्धन चाहिँ सिन्डिकेट एमालेसँग मिल्दा चाहिँ पवित्र भन्ने हाम्रो मान्यता होइन । एजेण्डामा जानुपर्यो । एजेण्डा के हो त ? उहाँहरु गठबन्धन रहेसम्म समाजलाई कसरी लैजाने । संविधानले के भनेको छ भने हामी समाजवादन्मुख राज्यव्यवस्था बनाउँछौं भनेको छ ।’

उहाँले समाजवाद उन्मुख भन्ने मामिलामा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, सिके राउत, उन्मुक्तिको धारणा एउटै हो त ? भन्दै प्रश्न गर्नुभयो । उहाँले थप्नुभयो, ‘उहाँहरुको एजेण्डा के हो ? हामीहरु उहाँहरुको एजेण्डामा बहस गर्न चाहन्छौं अहिले । एजेण्डा मिल्छ भनेर कोही आउनुभयो भने त्यतिखेर अर्कै कुरा हो । तर हामी एजेण्डाको आधारमा चुनाव लड्न चाहन्छौं । र जनताले एजेण्डाको आधारमा जनताले भोट हाल्न पाउनुपर्छ ।’

यसैगरी, उहाँले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत नलिएको बताउँदै भन्नुभयो, ‘म माओवादीको टिप्पणी गर्न चाहन्न । माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन । प्रचण्डजीको अहिले ३२ सीट छ ९० सीटलाई हल्लाएर खाइराख्नुभएको छ ।’