
काठमाडौं, १२ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।
गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
शनिबार बिहान नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसीसी टी-२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो । सोही प्रतिवद्धता अनुसार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको घाउँमा मल्हम लगाउन सकिएको बताउनुभयो ।








प्रतिक्रिया