
काठमाडौं, १२ फागुन । ‘मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को आज लोकार्पण हुँदै छ ।
‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालिन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याउँदै हुनुहुन्छ । पुस्तकको शनिबार दिउँसो एक कार्यक्रमकाबीच विमोचन गरिँदै छ ।
“शाही पाश्र्ववर्ती सैनिक” शाहले आफ्नो संस्मरणमा रहेको तत्कालिन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा पुस्तकमा समेट्नुभएको छ । पुस्तकमा उहाँले तत्कालीन समयमा पूर्वमन्त्री रमेशनाथ पाण्डेको दरबारभित्र विस्तारित प्रभाव र शाहसँगको आफ्नो सम्बन्धको बारेमा पनि उल्लेख गर्नुभएको छ ।
‘प्रभाव विस्तारमा माहिर पाण्डे’ भनेर दरबारमा कार्यरत रहँदा उहाँहरु बीचमा सम्बन्ध राम्रो नभएको प्रसंगलाई पुस्तकमा उल्लेख गर्नुभएको छ । तत्कालीन समयमा पाण्डेले लेखेका कारण दरबारभित्रका सचिवहरुको जागिर नै धरापमा परेको प्रसंगलाई पनि उहाँले पुस्तकमा अटाउनुभएको छ ।
‘‘उहाँका लेखहरूबारे दरबारका हामी सचिवहरूबीच छलफल हुन्थ्यो । एक पटक उहाँले माओवादीसँग वार्ता गरेको कुरा लेख्नुभयो । त्यतिबेला कतिपय मानिसहरूले ‘माओवादीलाई दरबारले परिचालित गरेको छ’ भनेर टिकाटिप्पणी गरिरहेका थिए । दरबारबाट मनोनीत पाण्डेले त्यस्तो लेखेपछि झन् शङ्का उत्पन्न भयो । पाण्डेले दरबारलाई मुछ्ने गरी लेख लेखेपछि एकदिन दरबारका सचिवहरूबीच कुरा उठ्यो, ‘उहाँले यस्तो लेख्नु हुँदैनथ्यो, यसले दरबारलाई असर पुर्याउँछ, अब उहाँले नैतिकताको आधारमा राजीनामा दिनु नै उचित होला,’’ पुस्तकमा शाहले उल्लेख गर्नुभएको छ ।
तत्कालीन समयमा रेवतीरमण खनाल दरबारका प्रमुख सचिव हुँदादेखि नै दरबारको सचिवालयसँग पाण्डेको एकदमै राम्रो सम्बन्ध रहँदै आएको भन्दै पाण्डेलाई खनालको अघोषित सल्लाहकार रहेको भन्दै शाहले लेख्नुभएको छ, ‘‘खासगरी, प्रमुख सचिव खनालको अघोषित सल्लाहकार जस्तै हुनु हुँदोरहेछ पाण्डे । खनालसँगको सम्बन्धकै कारण बेलाबेला राजासँग दर्शनभेट पनि पाइरहनु हुँदोरहेछ ।’’
रेवतीरमण खनाल र दरबारमा बढ्दो प्रभाव देखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पाण्डेको फोन ट्याप गर्न निर्देशन दिएको शाहले बताउनुभएको छ । ‘‘राजाले हटाउनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एकदिन तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणालाई भन्नु भएछ, ‘त्यो रमेशनाथको फोन ट्याप गर ।’ प्रहरी महानिरीक्षकको आदेशमा पाण्डेको फोन ट्याप भएछ । त्यसमा धेरैजसो कुरा त प्रमुख सचिव खनाल र पाण्डेबीच हुँदोरहेछ भन्ने पत्ता लाग्यो । दुवैबीच फोन–वार्ता हुँदा एक पटक म प्रति पाण्डेले अत्यन्तै नराम्रो दृष्टिकोण राख्नुभएको रहेछ ।’’
पाण्डेको फोन ट्याप भएपछि आफूप्रति नकारात्कम दृष्टिकोण झन् बढाएर लगेको टिप्पणी शाहले आफ्नो संस्मरणमा उल्लेख गर्नुभएको छ ।
‘एकदिन मलाई प्रहरी महानिरीक्षक राणाले भन्नुभयो, ‘तपाईंप्रति उहाँ पूरै नेगेटिभ हुनुहुँदो रहेछ । हजुरलाई टेप सुनाउँ ?’त्यति भनेपछि मैले त्यो टेप सुनें । मेरो विषयमा पाण्डेले नानाभाँती कुरा गर्नुभएको रहेछ । प्रमुख सचिवसँग कुरा गर्दै उहाँले भन्नुभएछः ‘… तपाईंको अफिसमाथि बस्ने एकजना छन् नि, युनिफर्म लगाउने सचिव, सबै बिगार्ने उनी नै हुन् ।’ त्यो बेला प्रधानमन्त्री देउवाले पाण्डेको फोन ट्यापिङ गर्नुका साथै राष्ट्रिय अनुसन्धान विभागलाई समेत उहाँको गतिविधिहरू नियाल्न पनि निर्देशन दिनुभएको थियो ।
‘फोन ट्यापिङको विषय मसँग प्रहरी महानिरीक्षक राणाले गर्नुभयो भने उनको गतिविधिहरू नियालिरहेको कुरा चाहिँ विभागका प्रमुख देवीराम शर्माले मलाई बताउनुभयो । शर्माले ‘पाण्डेको ओहदा र प्रतिष्ठाअनुसारको चरित्र नभएको’ सुनाउनुभयो,’ शाहले पुस्तकमा उल्लेख गर्नुभएको छ ।
पछि पाण्डेले आफ्नो पुस्तकमा शाह विरुद्ध ‘सैनिक सचिवले माओवादीलाई हतियार बेचेको भनेर लेखेको बताउनुभएको छ । पाण्डेले दरबारभित्र आफ्नो सम्बन्ध राम्रो भएको बताउँनकै लागि नाटक गर्ने गरेको आरोप लगाउँदै लेखक शाहले पाण्डेको स्वभाव पहिलादेखि नै यस्तै खालको भएको र अरू मानिसलाई प्रभाव पार्न आफू राजाको मान्छे भएको देखाउन चाहने र दरबारलाई भँजाएर फाइदा उठाउन निकै माहिर रहेको कडा टिप्पणी गर्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्रीले लोकेन्द्रबहादुर चन्दले नै पाण्डेमाथि निगरानी गर्न लगाएको विवरण उल्लेख गर्दै शाहले पुस्तकमा थप भन्नुहुन्छ ‘‘एकदिन प्रधानमन्त्री चन्दले सुधिरलाई भनेछन् ‘शाहजी, मन्त्री रमेशनाथ पाण्डेले मसँग कुराकानीको क्रममा पटकपटक दरबारबाट फोन आयो, सरकारले कुरा गर्न खोजिबक्सेको छ भन्दै कोठा बाहिर जाने गर्छन् । केही समय पश्चात् मात्र म बसेको कोठामा आउँछन् र साँच्चिकै राजाबाट कुरा गर्न खोजिबक्सेको हो वा उनले मलाई प्रभाव पार्न यस्तो नाटक गर्ने गरेका हुन् ? तपाईले गोप्य रुपमा पत्ता लाउनु पर्यो ।’ प्रमुख स्वकीय सचिव सुधिर शाहले बालुवाटारमा मन्त्री पाण्डेको आगमन हुँदा उनको गतिविधिको निगरानी गर्न थाले । प्रधानमन्त्री चन्द र मन्त्री पाण्डे अक्सर दक्षिणतर्फको भुइँतलाको ठूलो बैठक कक्षमा मन्त्रणा गर्ने गर्दथे । एकदिन पाण्डे बैठक कक्षबाट बाहिर निस्किएर पश्चिमतर्फको चोक जस्तो खुला ठाउँमा मोबाइलमा कुरा गरिरहेको शाहले लुकेर सुने तर वार्तालापको विषय सुन्न सकेनन् । कुनै अर्को दिन सुन्दा उनले निक्र्योल गरेछन्, पाण्डेको सम्वाद दरबारका प्रमुख सचिवसँग भैरहेको छ । पाण्डेले प्रमुख सचिवलाई आफू प्रधानमन्त्रीसँग बालुवाटारमा गोप्य वार्तालापमा रहेको र वार्ताको निष्कर्ष पछि अवगत गराउने तथा प्रमुख सचिवबाट केही निर्देशन भए पाउँ भनेर अनुरोध समेत गर्दै रहेछन् । मन्त्री पाण्डे बालुवाटारबाट फर्किएपछि शाहले माथिको विवरणको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रधानमन्त्रीले आश्चर्य मान्दै भने, ‘मलाई त फेरि पनि सरकारबाट कुरा गर्न चाहिबक्स्यो, म बाहिर गएर कुरा गर्छु भन्दै ढाँटे’’ शाहले प्रसंग वर्णन गर्नुभएको छ ।







प्रतिक्रिया