१ असार २०८३, सोमबार

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो चलचित्र पत्रकार संघको राष्ट्रिय भेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ९ फागुन । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको छ । ५ गते देखि सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो ।

बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए ।

भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख  मीनाकुमारी लामाले गर्नुभएको थियो भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले समन्वय र व्यवस्थापन गरेको थियो ।

भेलामा विभिन्न विषयका सेसन सञ्चालन गरिएको थियो । कार्यक्रमको सुरुवातमै संघका पूर्वअध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गर्नुभएको थियो । त्यस्तै बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विधेयक मस्यौदा बारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सहितको सुझाव राख्नुभएको थियो ।

यसैगरी, भेलामा पत्रकार ध्रव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था (हिजो, आज र भोलि) भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गर्नुभएको थियो । आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिनुभएको थियो ।

यस्तै, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र पत्रकारिता, विज्ञापन रहित नीति र अनलाईन बजार व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल समेत गरिएको थियो ।

कार्यक्रमको विशेष संवादमा चलचित्र सेन्सर की ग्रेडिङ ? भन्ने विषयमा निर्देशक मनोज पण्डित, निर्देशक दयाराम दाहाल, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यबीच संजोक बत्स्यालले छलफल गराउनुभएको थियो ।

त्यस्तै, मिडिया प्रमोशन र कर्पोरेट लगानीको विषयमा भने निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता रवीन्द्रसिंह बानियाँ, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, निर्देशक निश्चल बस्नेतबीच छलफल गराइएको थियो । उक्त छलफललाई पत्रकार अशोकप्यासी राईले सहजीकरण गर्नुभएको थियो । यसैगरी चलचित्र वितरक नरेन्द्र महर्जन, नायिका स्वस्तिमा खड्का, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, हाइलाईट्स नेपालका प्रवन्धक जनक तामाङलाई पत्रकार सुव्रत आचार्यले सिनेमा बजार (राष्ट्रिय अन्तरराष्ट्रिय र ओटीटी) विषयमा छलफल गराउनुभएको थियो ।

कार्यक्रममा विशेष संवाद अन्तरगत सिनेमा र पर्यटन संवादमा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र बोर्ड सदस्य भूवन केसी, निर्देशक दयाराम दाहाल, नायिकका केकी अधिकारी र पर्यटन बोर्डका सदस्य सुर्य थपलियालाई सिनेमा र पर्यटन विषयक बृहत छलफल गराइएको थियो । कार्यक्रममा चलचित्र पत्रकारिताको फिचर लेखनका साथै पत्रकारिता के हो ? भन्ने विषयमा प्रशिक्षक अरुण बराल र चिरञ्जीवी पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

हेटौँडामा भएको चार दिने राष्ट्रिय भेलाले १३ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ ।  उक्त जारी घोषणा पत्रमा यी कुरा उल्लेख गरीएको छ । डब्बु क्षेत्रीको संयोजकत्वको पाँच सदस्यीय टोलीले उक्त घोषणापत्र जारी हो ।

यस्तो छ १३ बुँदे जारी घोषणा पत्र

१. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धीत सरोकारवाला निकायसँग माग गर्दछ ।

२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।

३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय  तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।

४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।

५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण  र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।

६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।

७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।

८. नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।

९. कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।

१०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।

१२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।

१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।