२० असार २०८३, शनिबार

यस्तो छ ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको देख्न सकिन्छ ।

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर दर्शकलाई नयाँ सरप्राइज दिलाएको छ । साथै, फिल्मप्रति अपेक्षा चुल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरले देखाएको छ ।

ट्रेलर हेर्दा एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ । ट्रेलरमा मानसिक सन्तुलन गुमेको चरित्रमा सौगात सशक्त देखिएका छन् । अभिनेता प्रमोद अग्रहरीको चरित्रचित्रण पनि ट्रेलरमा प्रभावशाली रहेको छ ।

एक्सन कोरियोग्राफी सशक्त देखिएको छ । ट्रेलरको बलियो पक्ष भनेको ब्याकग्राउन्ड म्यूजिक रहेको छ । फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिजसँगै थप हाइप पाउने देखिएको छ । यो फिल्म बक्स अफिसमा सफल भएको खण्डमा नेपाली फिल्म क्षेत्रलाई नयाँ कथामा लैजाने विश्वास गरिएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । यस्तै फिल्ममा सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर रहेको छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो । यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ । यसलाई अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले गर्दैछ ।