१२ असार २०८३, शुक्रबार

र्‍यान्डममा कखराको चर्चा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ माघ । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ ।

साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राख्नुभयो ।

“नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाहरूको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्” बस्नेतले भन्नुभयो “एक आर्दश विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।”

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उहाँहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राख्नुभयो । ‘सिकाउनेले पढौँ’ अभियानसमेत सञ्चालन गर्दै आउनुभएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा ‘स्कुलिङ’ हावी भएको बताउनुभयो । देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उहाँले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताउनुभयो ।

आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपानेलगातयले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गर्नुभएको थियो ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।