५ श्रावण २०८३, मंगलबार

हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २४ माघ । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ ।

नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने छ । हरिवन –१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताउनुभयो । उहाँले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो ।

हरिवन–१ का विभिन्न स्थानको अभिलेख तयार गरी नापी र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रविष्ट गरिइएको छ ।