
काठमाडौं, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहनुभएकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।
उहाँ टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिनुभएको हो । उहाँसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिनुभएको छ ।
इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो ।
झापा हल्दीबारीका मेनुका दृष्टिविहीन हुनुहुन्छ । तर उहाँको गायिकी भने प्रशंसानीय छ । उहाँको गायिकीले इन्डियन आइडलमा प्रशंसा बटुलेको थियो ।
आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उहाँको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उहाँलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।
उहाँ आज घर फर्किदैहुनुहुन्छ । मुम्बईबाट बिहान साँढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनुहुनेछ । उहाँलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उहाँका प्रशंसकहरू बागडोगरा विमानस्थल पुग्नुभएको छ ।
इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालयसहित संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।









प्रतिक्रिया