
काठमाडौं, १९ माघ । शिल्पी थिएटर बत्तीसपुतलीमा आजदेखि माघ २९ गतेसम्म शहीद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ ।
गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो ।
नाटकमा शहीद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताउनुभयो । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र शहीद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको उहाँले जानकारी दिनुभयो ।
नाटकमा शहीद धर्मभक्त, शहीद शुक्रराज र शहीद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनुहुनेछ । शहीद दिवसको सन्दर्भ पारेर मञ्चन गर्न लागिएको नाटक बुधबार गत राष्ट्रिय नाँचघरमा शहीद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो ।
नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमुएडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गर्नुभएको छ । ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गर्नुभएको छ भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गर्नुभएको छ । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गर्नुभएको छ ।
निर्देशक चे शंकरका अनुसार शनिबार १ बजे पनि मञ्चन हुने नाटक स्कूलका बालबालिका र शैक्षिक संस्थाहरुले अनुरोध गरेमा भिन्न–भिन्न समयमा पनि मञ्चन हुनेछ । निर्देशक चे शंकरले यसअघि ‘कोही किन बर्बाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक निर्देशन गसिक्नुभएको छ ।








प्रतिक्रिया