
काठमाडौं, १४ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगञ्जमा आयोजित एक समारोहकाबीच नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कमरुद्दीन राईमार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशीन परेको बताउनुभयो । उहाँले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताउनुभयो । उहाँले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबरको परोपकारी काम गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कमरुद्दीन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रसिंह ऐरलगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सातै प्रदेशमा मोबाइल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।








प्रतिक्रिया