
काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टीको नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभयो । आफूलाई पालो दिने हैसियतको नेता पार्टीभित्र बनिनसकेको विश्लेषण गर्दै दाहालले घुमाउरो पाराले विकल्प नखोज्न पार्टीपंक्तिलाई चुनौती दिनुभएको छ ।
माओवादी केन्द्रले दाहाललाई असीमित समय दिँदै उहाँ हलचल गर्न समर्थ भईञ्जेल अध्यक्ष बनिरहने बाटो वैधानिक रुपमै खुला गरिसकेको छ । शरीर शिथिल नभईञ्जेल राजनीतिको पकड आफ्नो नियन्त्रणमा रहने गरी विधानमै असीमित अधिकार सुरक्षित गरेका दाहाल युवा पुस्तालाई ढिम्किन दिने सोचमै नभएको उहाँको पछिल्लो अभिव्यक्तिले प्रस्ट पारेको छ ।
त्यसो त दाहाल पार्टी स्थापनाकालदेखि नै निरन्तर अध्यक्ष हुनुहुन्छ । यसरी हेर्दा उहाँले नेतृत्वदायी भूमिका खेलेर पार्टी चलाएको साँढे तीन दशक बितिसकेको छ । तर अझैपनि उहाँ नेतृत्वबाट विश्राम लिने पक्षमा हुनुहुन्न ।
बरू आफ्ना विरुद्ध उठ्दै गरेको आवाजको आयतन बढ्ला भन्ने भयले चिन्तित देखिनुहुन्छ माओवादी सुप्रिमो प्रचण्ड । शान्ति प्रक्रियाको पूर्णताको नारा अघि सारेर सत्तामा समेत आफ्नो उपस्थितिलाई अनिवार्य जस्तै बनाउनुभएका उहाँले पार्टीभित्रको विरोधी मत तर्साउन एक होइन अनेक तुरुप प्रस्तुत गर्दै अउनुभएको छ । पछिल्लो अभिव्यक्तिलाई त्यसैको निरन्तरता ठान्छन् राजनीतिका पण्डितहरु ।
शहीद प्रतिष्ठान नेपालको कार्यक्रममा शनिबार अध्यक्ष दाहालले निशंकोच भनिदिनुभयो, ‘पार्टीको नेतृत्वमा अझै आफ्नो विकल्प छैन ।’ यतिमात्र होइन उहाँले यो कुरामा आफू निष्कर्षमै पुगेको बताएपछि नेतृत्वमा पुग्ने सपना बुनिरहेका नेताहरु झस्किनुभएको छ ।
गठबन्धन सरकारको नेतृत्वमा रहेका दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन पनि दिन पछि पर्नुभएन । उहाँले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेर नेता कार्यकर्ताको ध्यान मोड्ने प्रयाश पनि गर्नुभयोे ।
दाहालले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको भनेर आफ्नो बचाउ पनि गर्नुभयो ।
प्रधानमन्त्री दाहालले गठबन्धन सरकारको आयु लम्याउने प्रयाश पनि गरिरहेकै हुनुहुन्छ । उहाँले यसका लागि प्रदेशहरुका सरकारमा पनि गठबन्धनलाई असर पुग्ने किसिमका कार्य नहुन् भनेर सन्तुलन कायम राख्ने गरी समन्वयन गर्नुभएको छ ।
कोशी प्रदेश सरकार फेरबदल हुँदा गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्रका समूहहरुमै प्रवेश गरेर दाहालले राजनीतिक हस्तक्षेप गर्न सफल हुनुभएको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई बालुवाटार बोलाएर आफ्नो रोहबरमा चिर्कटो सम्झौता गराउन सफल हुनुभएका दाहाल त्यसपछि गठबन्धन सरकारको चुनौति शिथिल बनाउन आफू सफल भएको ठानिरहेको देखिनुहुन्छ ।
यसबाट आत्मविश्वास बढेपछि दाहाल अब आफ्नै पार्टीभित्र उत्पन्न हुनसक्ने चुनौति कमजोर पार्न नेतृत्वमा आफ्नो विकल्प नरहेको हाँक दिन थाल्नुभएको छ ।
पछिल्लो संसदीय निर्वाचनपछि सरकारको नेतृत्व लिन दाहालले गरेको दौडधुप उहाँको शक्तिमा रहिरहने चाहनाको एउटा उदाहरणीय स्वरुप ठान्छन् राजनीतिक विश्लेषक । निर्वाचन सकिउञ्जेलसम्म सहकार्य गरेको दल नेपाली कांग्रेससँग सम्बन्धको धागो छिनाएर पानी बाराबारको सम्बन्ध भएको एमालेसँग हात मिलाउन पुगेका दाहाल छोटो अवधिमा फेरि पुरानै सहयात्री नेपाली कांग्रेससँग अँगालो मार्न फकिनुभएको थियो ।
दाहालको चञ्चल गतिविधिलाई राजनीतिको नयाँ उदाहरण मानिएको थियो । अहिले त्यही गठबन्धन सत्ताको नेतृत्व गरिरहेको छ र दाहाल नेतृत्वमा विराजमान हुनुहुन्छ ।
जनार्दन शर्मा र वर्षमान पुन जस्ता नेता माओवादीभित्र दाहालका बलिया चुनौति मानिनुहुन्छ । यी दुबै नेता र दाहालबीच वाकयुध्द पनि चल्ने गरेको देखिन्छ समय समयमा । तर कम्युनिस्ट पार्टीको संस्कार अनुसार त्यस्ता विमतिहरुलाई कार्पेटमुनि छोप्ने गरिन्छ । जसका कारण आममानिसले सुँइको पनि पाउन सक्दैनन् । शीर्ष तहका नेताकै विमति थिचोमिचोमा परेको देखेका अरु तहका नेता राजनीतिक भविष्य जोखिममा पार्न चाहँदैनन् । त्यसैले नेतृत्वले आफूलाई सर्वसम्मत भएको देखाउने छुट पाइरहन्छ ।
यस्तो कृत्रिम चरीत्रको राजनीतिक दाउपेच राष्ट्रिय राजनीतिको मूलप्रवाहमा हावी भएको देखिन्छ । पुष्पकमल दाहालले प्रधानमन्त्रीको आसनमा बसेको राजकीय लाभ लिँदै अब दलभित्रको विरोधी स्वर दवाउन थालेका छन् भन्ने कुरा आफ्नो विकल्प नरहेको भनी दिएको अभिव्यक्तिबाट प्रस्ट हुन्छ ।







प्रतिक्रिया