१६ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ माघ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गर्नुभएको छ । उहाँले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्नुहुनेभएको छ ।

छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका लागि तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन् । एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ ।

माओवादीको भागमा दुईजना पर्ने अवस्थामा भने संखुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियु्क्त हुन सक्ने सम्भावना छ । सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ ।

कोशी प्रदेश सरकारमा हाल कांग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।