२५ असार २०८३, बिहिबार

मुगुमा भाइरल ज्वरो : आमाको मृत्युपछि ४ महिने शिशुसहित बालबच्चाको बिचल्ली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १४ माघ । सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ ।

गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बित्नुभएपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदैछिन् ।

वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ । श्रीमतीकोे मृत्युपछि शोकमा डुबेका उहाँका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै हुनुहुन्छ । उहाँ केही बोल्नुभएन ।

‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भन्नुभयो ।

सलबहादुर आफैँ पनि बिरामी हुनुहुन्छ । उहाँका भाइबुहारी पनि ज्वरोले थलिएका छन् । रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ । तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ ।

‘घरमा दुई छाक टार्नै धौ–धौ छ । मजदुरी गरेर खान्थ्यौँ,’ सलबहादुरले भन्नुभयो, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठूलाले जे खाए पनि हुनेरहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ ?’

घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा सलबहादुर छोरालाई लिएर मजदुरी गर्न भारत पुग्नुभएको थियो । तर दुई महिना नबित्दै घरमा बिपत्ति आइलाग्यो । सबै जना बिरामी परेको खबर पाएपछि उहाँहरू घर फर्किनुभयो, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो ।

गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ । ‘घरैभरि बिरामी छन् । मान्छेको बिचल्ली छ,’ सलबहादुरले भन्नुभयो, ‘वल्लोघर पल्लोघरका नानीहरुले दुध खुवाएर त्यो बच्चालाई बचाएका छन् । कसलाई के भनौँ ? कसरी मागौँ ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन् ।

झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन् ।