२ असार २०८३, मंगलबार

सीपमूलक शिक्षा आजको आवश्यकता : अध्यक्ष तिमिल्सिना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ (कास्की), १४ माघ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई विदेश जानबाट रोक्न दश जोड दुई अध्ययन गर्दा नै सीपमूलक शिक्षा दिन आवश्यक भएको बताउनुभएको छ ।

पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालयको स्वर्ण महोत्सवको शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले अब व्यावसायिक र रोजगारमूलक शिक्षा नेपालमा आवश्यक देखिएको औँल्याउनुभयो । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकले पनि सीपमूलक शिक्षालाई समावेश गर्ने विश्वास उहाँले दिलाउनुभयो । शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भएकाले उनीहरूले जागिर खाने मानसिकता हटाएर भविष्यका कर्णधार उत्पादनमा लागेको छु भन्ने सोचलाई अगाडि बढाउन उहाँले सुझाव दिनुभयो ।

अधिकांश सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर न्यून भएकाले त्यसलाई सुधार गर्न जरुरी भएको बताउँदै उहाँले निजीको तुलनामा सरकारी विद्यालयमा अध्ययापन गराउने शिक्षक दक्ष भए पनि विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

जागिर खाने मानसिकता हटाउँदै जिम्मेवारीपूर्णरूपमा आफूले प्राप्त गरेका तालिमलाई प्रयोग गर्दै विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन पनि उहाँको सुझाव थियो । शिक्षकप्रतिको आकर्षण घट्दा पनि शिक्षक जागरुक हुन नसकेको उहाँको भनाइ थियो ।

वर्तमान राजनीतिबारे बोल्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई परिवर्तन गर्न जरुरी भएको बताउनुभयो । “सुशासन र जनताका कामलाई प्राथामिकतामा राखेर दलहरू अगाडि बढ्नुको विकल्प छैन, सेवा प्रवाहका कामलाई चुस्तदुरुस्त पार्दै जनताका समस्या समाधान गरौँ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले विद्यार्थीको क्षमता विकासका लागि पढाइमात्र नभएर अतिरिक्त क्रियाकलाप पनि त्यत्तिकै आवश्यक हुने बताउनुभयो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्यले शिक्षकले लिएको तालिम कक्षाकोठासम्म पुगेमा विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने भनाइ राख्नुभयो ।

विद्यालय व्यवस्थापन समतिका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक बदनकुमारी शर्माले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा उक्त विद्यालयमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै स्वर्ण महोत्सवमा प्रकाशित स्वर्ण जयन्ती स्मारिककाको विमोचनसमेत गरिएको थियो ।