
पोखरा, १३ माघ । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’माथि विमर्श गरेको छ ।
सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताउनुभयो ।
‘जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ, अनि गीलु रातोस जस्ता कविहरू जन्मिन्छन्’ नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका संयोजकसमेत रहेका मुकारुङले भन्नुभयो, ‘मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने बुझ्नुपर्छ ।’ मुकारुङले गीलु रातोसले आफ्ना कवितामा उठाएका मुद्दा हरेक किनारीकृत वर्गले आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्की वक्ता गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणाा राख्नुभयो । गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत रहेकी तमुले आम मानिससमक्ष मातृभाषीको अभिव्यक्ति पुर्याउनका लागि पनि नेपाली भाषामै लेख्नुपर्ने अनुभव सुनाउनुभयो । उहाँको गुरुङ र नेपाली भाषामा ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशन भएको छ ।
कार्यक्रमको सहजीकरण गरेका पत्रकार तथा साहित्यकार सुरेश रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको बताउनुभएको थियो ।
कवि रातोसले आफूले जनयुद्धका क्रममा देखेका सपनाहरूको प्रतिविम्ब कवितामा उतारेको बताउनुभयो । उहाँले आफ्ना दुई कविता वाचन गर्नुभएको थियो । थेबाला प्रकाशनले बजारमा ल्याएको कृतिमा उहाँका ४२ कविता सङ्गृहीत छन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव केसी, तेजबहादुर गुरुङ, सुजित साहलगायतले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव नेपाल प्रकाश अधिकारीले गर्नुभएको थियो । सोही अवसरमा नियमित मासिक कार्यक्रमअन्तर्गत माघ महिनाको अन्तिम शनिबार २७ गते हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि सोसाइटीकी पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको चर्चासहित आयोजना गरिएको जानकारी गराइएको थियो ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि परिचर्चा गर्दै आएको छ ।









प्रतिक्रिया