३० असार २०८३, मंगलबार

विवाह गर्न वडाको सिफारिस अनिवार्य

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।

तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको बताउनुभयो । ‘२६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘सोहीबमोजिम कार्यान्वयन गर्दै आएका छौं ।’

कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । ‘सोहीबमोजिम सिफारिस दिने गरिएको छ,’ वडाध्यक्ष रोकायले भन्नुभयो । तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन् ।

वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । यो वडाको सुडीगाउँमा दुईवटा र घोडेगाउँमा एउटा बालविवाह रोक्ने काम भएको वडाध्यक्ष रोकाएले जानकारी दिनुभयो ।