३० असार २०८३, मंगलबार

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं : वर्षमान पुन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १३ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामपछि कांग्रेससँगको सहकार्यको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लाास्तरीय नेताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक चुनावमा कांग्रेसलाई इमान्दारीपूर्वक मत दिँदा पनि धोका खाने गरेकाले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको हो ।’

उहाँले कोशी प्रदेशको राष्ट्रियसभा चुनावले राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याएको र कांग्रेससँगको गठबन्धनबारे पुनरावलोकन गर्नु आवश्यक भएको बताउनुभयो । ‘हामी हरेक चुनावमा इमान्दार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

यसबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल हुने उहाँले बताउनुभयो ।

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । कांग्रेसका सिटौला विजयी हुँदा माओवादीकी कार्की नेकपा (एमाले)की रुक्मिणी कोइरालासँग पराजित हुनुभएको थियो ।