३१ आश्विन २०८३, शनिबार

इजरायल र हमासबीच जारी युद्धमा राष्ट्रसंघका १३६ सहकर्मी मारिए : गुटेर्रेस

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, ७ पुस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन् ।

राष्ट्र संघको इतिहासमा यति धेरै संख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो । “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका छैनौं । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसंघका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेखेका छन् ।

उनले भने, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौं सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।”

अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।

करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकू प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।

इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरषा बलले गाजा शहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ । एएफपी