१ कार्तिक २०८३, आइतबार

गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, २९ मंसिर । गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको छ । गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ। इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ ।

अक्टोबर ७ मा हमास-इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६०० पुगेको छ ।