काठमाडौं, १८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीको ध्यान अब विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा निस्किएका ओलीले सोमबार दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने बताए । ‘अबका पोलटिकल पार्टीहरूले पालटिक्स मात्र गरेर हुँदैन, विकासका नेता हुनु पर्दछ, उनीहरूले विकासको बारेमा जानकारी राख्नु पर्दछ’, ओलीले भने ।
यस विषयमा राजनीतिक दलले सोच्ने र काम गरिहाल्नु पर्ने ओलीले बताए । कुनै पनि देश अरूले आएर बनाइदिने नभई आफैँले बनाउनु पर्ने ओलीले प्रष्ट पारे । आफ्नै देशमा अनुसन्धान गरी नयाँ प्रविधिको विकास गर्नुपर्ने ओलीले बताए ।
देशमा बढ्दो आयात र घट्दो निर्यात चिन्ताको विषय भएको ओलीले बताए । ‘हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन’, अध्यक्ष ओलीले भने । बाहिरबाट ल्याएको सामान निर्यात गर्ने काम केवल नक्कली निर्यात मात्र हुने उनले बताए । त्यसलाई घटाउने हो भने नेपालको निर्यात अत्यन्तै कम भएको उनले प्रष्ट पारे ।
आफूले चीन भ्रमण गर्दा व्यापार सन्तुलन कायम गर्न नेपालको सामान खरिद गरिदिन चीनका राष्ट्रपति समक्ष अनुरोध गरेको ओलीले स्मरण गरे । त्यति बेला चीनका राष्ट्रपतिले सामान नै उत्पादन गर्नु हुन्न के किन्नु, जे पठाउनु हुन्छ, त्यही किनिदिन्छौँ भन्ने जवाफ दिएको ओलीले सुनाए । त्यसो भन्दा आफूले चीनलाई नेपालमा उत्पादनको लागि सहयोग गर्न अनुरोध गरेको ओलीले बताए । तर अहिलेको सरकार चीनबाट सहयोग लिन डराएको ओलीको भनाइ छ । ‘अहिलेको सरकाले चीनको सहयोग लिन सक्दैन, किन भने डराउँछ’, उनले भने ।