सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

दैनिक नेपाल २०८० मंसिर १६ गते ९:०१

चितवन, १६ मंसिर । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय श्यया छन् ।

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो संघीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

संघीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित